साउदी अरब । भोटेकोशी नदीमा आएको भीषण बाढी तथा नदी कटानका कारण नेपालका विभिन्न जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाली जनसम्पर्क समिति, साउदी अरेबियाले राहतका लागि आर्थिक सहयोग संकलन गरेको छ।
रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लामा बाढी तथा प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै समितिले मृतकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
देश विपत्तिमा परेका बेला प्रवासमा रहेका नेपालीहरू पनि सहयोगका लागि एकजुट हुनुपर्ने भन्दै नेपाली जनसम्पर्क समिति साउदी अरबको नेतृत्वमा पहिलो चरणमा ५ लाख ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग संकलन भएको समितिले जनाएको छ।

समितिका अनुसार संकलित उक्त रकम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैंक खातामार्फत नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’मा जम्मा गरिनेछ। समितिले रकम पारदर्शी रूपमा वास्तविक पीडितहरूको राहत तथा पुनर्स्थापनामा उपयोग हुने विश्वास व्यक्त गरेको छ।

सहयोग अभियानमा स्वतःस्फूर्त रूपमा जोडिएर आर्थिक सहयोग गर्ने सम्पूर्ण सहयोगदाताप्रति समितिले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
बाढीबाट भएको क्षति ठूलो भएकाले राहत तथा पुनर्स्थापनाका लागि अझै थप सहयोग आवश्यक रहेको जनाउँदै समितिले प्रवासमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आ–आफ्नो क्षमता अनुसार सहयोगका लागि हातेमालो गर्न आह्वान गरेको छ।
“विपत्तिको यो घडीमा सबै नेपाली एकजुट बनौँ र पीडितको आँसु पुछ्न सहयोग गरौँ,” समितिले अपिल गरेको छ।

>










Discussion about this post