साउदी अरब । भोटेकोशी नदीमा आएको भीषण बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि प्रवासमा रहेका नेपालीहरूले राहत तथा उद्धारका लागि आर्थिक सहयोग जुटाउन थालेका छन्।
यसैक्रममा नेपाली जनसम्पर्क समिति, साउदी अरबको नेतृत्वमा पहिलो चरणमा रु. ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग संकलन भएको जनाएको छ। समितिका अनुसार संकलित रकम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको खातामार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको छ।

त्यस्तै, प्रवासी नेपाली सम्पर्क विभाग, साउदी अरबले पनि बाढी तथा पहिरो प्रभावितका लागि रु. १० लाख २५ हजार ३० रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ। विभागका सभापति भुपाल भण्डारीका अनुसार विभागमा आबद्ध पदाधिकारी तथा सदस्यहरूबाट स्वेच्छिक रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको हो। सहयोगीहरूको नामावली तथा रकमको विवरणसमेत सार्वजनिक गरिने उनले बताएका छन्।

नेपालमा विपत्तिले ठूलो मानवीय संकट निम्त्याएको अवस्थामा साउदी अरबमा रहेका नेपाली संघसंस्था तथा समुदायले आ–आफ्नो तर्फबाट राहत तथा उद्धारका लागि सहयोग अभियान सञ्चालन गरिरहेका छन्। प्रवासमा रहेका नेपालीहरूले मातृभूमिमा परेको विपत्तिमा देखाएको सहयोगले मानवीय एकता, सामाजिक उत्तरदायित्व र मातृभूमिप्रतिको जिम्मेवारीलाई थप उजागर गरेको छ।
बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्स्थापनाको आवश्यकता अझै ठूलो रहेकाले साउदीलगायत विभिन्न देशमा रहेका नेपाली समुदायले सक्दो सहयोगका लागि निरन्तर आह्वान गरिरहेका छन्।

>









Discussion about this post