गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्ष पदका लागि रोजिना प्रधान राईले उम्मेदवारी घोषणा गरेकी छन्। एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११औँ महाधिवेशनबाट महिला उपाध्यक्षमा निर्वाचित राईले आगामी महाधिवेशनमा खुला उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने तयारी गरेकी हुन्।
संघको बृहत् एकता महाधिवेशन आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा आयोजना हुँदैछ। सोही महाधिवेशनबाट नयाँ कार्यसमितिको निर्वाचन गरिने निर्वाचन समितिले जनाएको छ। संघको एकता सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेपछि राई चर्चामा आएकी छन्।
को हुन् रोजिना?
रोजीहिरा फाउण्डेशन की अध्यक्षसमेत रहेकी राई सामाजिक तथा परोपकारी कार्यमा सक्रिय छन्। सन् २०१५ को विनाशकारी भूकम्प, कोभिड–१९ महामारी, बाढी तथा पहिरो जस्ता विपद्का समयमा उनले आर्थिक तथा मानवीय सहयोग प्रदान गरेकी थिइन्।

बेलायतमा आयोजित विभिन्न सौन्दर्य तथा प्रतिभा प्रस्फुटन कार्यक्रमहरूमा निर्णायकको भूमिका निर्वाह गरेकी उनले नव नारी, टुडेज वुमन, खोटाङ सेवा समाज बेलायत, रावाखोला सेरोफेरो यूके, किरात राई यायोख्या बेलायत तथा गुन्यूचोली तथा सांस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियान नेपाललगायत संस्थाबाट सम्मान प्राप्त गरेकी छन्।
Anglia Ruskin University बाट व्यवसाय प्रशासन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेकी राई हाल World Newa Organization, खोटाङ सेवा समाज यूके तथा NRNA UK मा सल्लाहकारका रूपमा क्रियाशील छन्।
नेपालमा जलविद्युत्, हिमालय जाभा, कफी खेती तथा होटल क्षेत्रमा लगानी गरेकी राई सफल महिला उद्यमीका रूपमा परिचित छन्। विदेशमा आर्जन गरेको ज्ञान, सीप र प्रविधि नेपालमा भित्र्याउने, साना तथा ठूला लगानी प्रवर्द्धन गर्ने तथा एनआरएनए सीप बैंक जस्ता कार्यक्रमलाई प्राथमिकता दिने उनको प्रतिबद्धता रहेको छ।
आगामी महाधिवेशनसँगै खुला उपाध्यक्ष पदमा उनको उम्मेदवारीले एनआरएनए वृत्तमा नयाँ उत्साह र चासो उत्पन्न गरेको छ।

>










Discussion about this post