रम्जान दिन मियाँ, जेद्दा (साउदी अरब)
साउदी अरबको मदिनामा विगत केही दिनदेखि अलपत्र परेका २९ जना नेपाली उम्रा तीर्थयात्रीहरूलाई जेद्दास्थित नेपाली महावाणिज्य दूतावासले उद्धार गरेको छ। मध्यपूर्वमा विकसित राजनीतिक तनाव र द्वन्द्वका कारण उडानहरू रद्द भएपछि स्वदेश फर्किन नपाएर समस्यामा परेका उनीहरूलाई दूतावासको विशेष पहलमा नेपाल फर्काउने व्यवस्था मिलाइएको हो।
गत फेब्रुअरी १७ मा ‘सादाब नेट्रो ट्राभल्स’ मार्फत ३६ जनाको समूह उम्रा (धार्मिक तीर्थयात्रा) का लागि मक्का–मदिना आएको थियो। कपिलवस्तुका मोहम्मद ताहिर अलीको नेतृत्वमा आएको उक्त टोलीले आफ्नो तीर्थयात्रा पूरा गरी मार्च ३ मा नेपाल फर्किने तालिका बनाएको थियो। तर, क्षेत्रीय तनावका कारण विमानस्थलहरू बन्द भई उडानहरू अचानक रद्द भएपछि उनीहरू मदिनामै रोकिन पुगेका थिए।

३६ जनाको उक्त समूह मध्ये ७ जना आफ्नै खर्चमा भारतको मार्ग हुँदै नेपाल फर्किए पनि बाँकी २९ जनासँग पुनः हवाई टिकट खरिद गर्ने आर्थिक क्षमता नहुँदा उनीहरू मदिनामै अलपत्र परेका थिए। लामो समयसम्म बसोबास र खानपानमा समेत कठिनाइ भोग्नुपरेपछि तथा विभिन्न सामाजिक संघ–संस्थाहरूबाट सहयोगको पहल सफल नभएपछि उनीहरूले जेद्दास्थित नेपाली महावाणिज्य दूतावाससँग सहयोगको याचना गरेका थिए।
नेपाली नागरिकहरू समस्यामा परेको जानकारी पाएलगत्तै महावाणिज्य दूतावास सक्रिय भएको थियो। कार्यवाहक महावाणिज्यदूत पारस पण्डित, वाणिज्यदूत सुवास यादव तथा प्रतिनिधि शौकत अलीको टोली स्वयं मदिना पुगेर अलपत्र परेका तीर्थयात्रीहरूको आवास र भोजनको उचित व्यवस्था मिलाएको थियो।

महावाणिज्य दूतावासको समन्वयमा उनीहरूलाई मार्च १० मा मदिनाबाट बसमार्फत रियाद पठाइएको छ। दूतावासका अनुसार रियादबाट मार्च ११ बिहान १० बजे हुने उडानमार्फत उनीहरूलाई नेपाल पठाउने सम्पूर्ण तयारी पूरा भइसकेको छ।
अप्ठ्यारो परिस्थितिमा राज्यको तर्फबाट समयमै अभिभावकीय भूमिका निर्वाह गर्दै स्वदेश फिर्तीको सुनिश्चितता मिलाएकोमा तीर्थयात्रीहरूले महावाणिज्य दूतावासप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले दूतावासका पदाधिकारीहरूलाई धन्यवाद दिँदै खुसी प्रकट गरेका छन्।

>










Discussion about this post