नेपालगन्ज, साउन ९ ।
नेपालगन्जस्थित सुनाखरी रेष्टुरेन्टमा वेट्रेसको रुपमा कार्यरत २२ वर्षीया युवती निर्मला थापाको हत्या भएको छ। दैलेख घर भई नेपालगन्ज-१२, बेलासपुरमा बस्दै आएकी निर्मलाको हत्या स्वस्तिक कटेजमा क्याप्टेनको रुपमा कार्यरत बर्दिया घर भएका ३५ वर्षीय प्रकाश सुनारले गरेको पुष्टि भएको छ।
प्रहरीका अनुसार, बुधबार राति प्रकाशले निर्मलाको घाँटीमा सलले बेरेर हत्या गरेपछि उनको बहिनीलाई फोन गरी “तिम्रो दिदीलाई मैले मारेँ” भनी जानकारी गराएका थिए। त्यसपछि उनले आफन्त, साथीभाइलाई भेट्दै “अब यति हो है भेटघाट” भन्दै बिदा लिँदै हिँडेका थिए।

राति करिब २ बजे उनी स्वयं जिल्ला प्रहरी कार्यालय बाँके पुगेपछि घटना बाहिरिएको हो। प्रहरीले त्यसपछि घटना स्थलमा पुगेर निर्मलाको शव कोठामा फेला पारेको जनाएको छ।
विगत तीन वर्षदेखि नेपालगन्जकै बेलासपुरमा एकैठाउँ बस्दै आएका प्रकाश र निर्मलाबीच प्रेम सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यद्यपि, प्रकाश विवाहित थिए र उनका श्रीमती, एक छोरा र एक छोरी हाल बर्दियामा बस्दै आएका छन्।

प्रहरीका अनुसार, निर्मलाको परिवार घटनापछि मात्र नेपालगन्ज आएको र त्यसपछि मात्रै पोस्टमार्टम प्रक्रिया अगाडि बढाइएको हो। घटनाबारे थप अनुसन्धान जारी रहेको बाँके प्रहरीले जनाएको छ।


>









Discussion about this post