साउदी दम्माम साउन ३० – कुवेतमा अवैध रूपमा उत्पादन गरिएको विषाक्त रक्सी सेवनका कारण कम्तीमा १३ जना एशियाली श्रमिकको मृत्यु भएको छ भने ६३ जना बिरामी परेका छन्। स्वास्थ्य अधिकारीहरूका अनुसार रक्सीमा उच्च मात्रामा मेथेनल (मिथेनोल) भेटिएको छ, जसले गर्दा गम्भीर स्वास्थ्य समस्या उत्पन्न भएको हो।
कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार पीडितमध्ये ३१ जनालाई भेन्टिलेटरमा राखिएको छ, ५१ जनाले डायलिसिस गर्नुपरेको छ, र २१ जनामा दृष्टि गुम्ने वा स्थायी रूपमा अक्षम हुने अवस्था देखिएको छ।

मृत्यु हुने र प्रभावित हुनेमध्ये विभिन्न एशियाली मुलुकका नागरिक रहेका छन्। हालसम्मको आधिकारिक विवरणमा नेपाली नागरिकको मृत्यु वा गम्भीर प्रभावित भएकोबारे पुष्टि भएको छैन।
अवैध रक्सीको सेवनसँग सम्बन्धित घटनामा कुवेत प्रहरीले अनुसन्धान अघि बढाएको छ र यो घटनामा संलग्न आशंकित व्यक्तिहरूलाई पक्राउ गरिएको बताइएको छ।
विशेषज्ञहरूका अनुसार मेथेनल मिश्रित रक्सी अत्यन्त खतरनाक हुन्छ, जसले न्युरोलोजिकल क्षति, अन्धोपन र मृत्यु समेत निम्त्याउन सक्छ।
Discussion about this post