अल–फराज इन्टरनेशनल ओभरसिज प्रालिबाट २३ महिना अघि साउदीको इलाईट सपोर्टिङ कम्पनी एलएलसी मा काम गर्न आएका यी ११ नेपाली, कम्पनीका अफिसियल सम्पर्कविहीन भई कम्पनी बन्द भएपछि यान्बुमा बेतलब अलपत्र परेका हुन्।
पिडितहरूका अनुसार, इकामा (काम गर्ने अनुमति पत्र) को म्याद सकिएको ८ महिना भइसकेको छ। प्रहरीले नियन्त्रणमा लिए पनि पुनः छोड्ने गरेको छ। उनीहरू बसोबास गर्दै आएको भवनमा बिजुली समेत छैन।

सिराहाका पिडित लव शाहाले भन्नुभयो— “कसरी भए पनि नेपाल फर्किन पाए हुन्थ्यो।” तर, नेपालमा रहेको म्यानपावर कम्पनीलाई सम्पर्क गर्दा भागेर काम गर भन्ने सुझाव दिइएको आरोप लगाइएको छ।
महावाणिज्य दूतावास, जेद्दामा कुरा गर्दा, यो समस्या नेपाली राजदूतावास रियादको क्षेत्रअन्तर्गत पर्ने भएकाले त्यहाँ सम्पर्क गर्न भनिएको पिडितले बताएका छन्। तर, रियादस्थित दूतावासमा सम्पर्क गर्दा फोन रिसिभ नहुने अर्को पिडित रुपन्देहीका रेजिन गुरुङको भनाइ छ।
अलपत्र हुनेमा —
रेजिन गुरुङ (रुपन्देही), छम बहादुर राना (बागलुङ), सन्तोष यादव (सिराहा), लव शाहा (सिराहा), कुश शाहा (सिराहा), कमल सडाइ (सिराहा), बिनोद महरा (सिराहा), उमेश सहानी (सिराहा), आकाश कुमार चौधरी (सुनसरी), राहुल कुमार चौधरी (सुनसरी) र राम धिरज बर्मा (बाँके) रहेका छन्।
राहत सामग्री सहयोग
८ अगस्ट, शुक्रबारका दिन, नेपाली सेवा समिति यान्बुका अध्यक्ष धन बहादुर गुरुङको नेतृत्वमा गएको टोलीले पिडितहरूको अवस्था बुझेर तत्काल राहत सामग्री वितरण गरेको छ।
दिपक खड्का र पदम उप्रेतीले चामल ४० केजी, आलु १० केजी, तेल ५ लिटर, चिकेन १० केजी, प्याज ८ केजी, नुन ३ डब्बा, चिनी ५ केजी, चियापत्ती ५०० पिस, सर्फ १० केजी, साबुन १२ वटा, टूथपेस्ट ४ वटा, साथै दुर्गा सारु मगरले नगद २०० साउदी रियाल सहयोग गर्नुभएको हो।
समितिले आवश्यक परे थप राहत उपलब्ध गराउने, र सम्बन्धित निकायमा कुरा राख्दै साउदीमा क्रियाशील संघ–संस्था तथा व्यक्तिहरूलाई सहयोग तथा पहलका लागि अपिल गरेको छ।
तल्ल भिडियो लिन्क मा भिडियो हेर्नुहोस :-
Discussion about this post