मिति : २०८२ जेष्ठ १६ गते बाँके — डुडुवा गाउँपालिकाले नेपालगञ्जमा अवस्थित निलसागर सेवा आश्रम तथा मानव सेवा आश्रममा खाद्यान्न र स्टेशनरी सामग्री वितरण गरेको छ। गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरी र उपाध्यक्ष साहिदा बाँनोको नेतृत्वमा एक टोलीले शुक्रबार बृद्धाश्रम पुगेर सहयोग हस्तान्तरण गरेका हुन्।
निलसागर सेवा आश्रममा आयोजित कार्यक्रममा अध्यक्ष चौधरीले आश्रम निर्माणाधीन भवनको एक कोठा निर्माणका लागि आवश्यक रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले निलसागर आश्रमले समाजमा कसैले गर्न नसकेको उत्कृष्ट कार्य गर्दै आएको उल्लेख गर्दै, गाउँपालिकाबाट सक्दो सहयोग गरिने प्रतिवद्धता जनाए।

उपाध्यक्ष बाँनोले पनि आश्रमको सामाजिक सेवाप्रति सम्मान प्रकट गर्दै घरबारविहीन, सडकमा जीवन बिताइरहेका व्यक्तिहरूको उद्धार, औषधोपचार, पालनपोषण र पारिवारिक पुनर्मिलन जस्ता महत्वपूर्ण कार्यमा आश्रमले योगदान दिइरहेको बताइन्।

गाउँपालिकाले आश्रममा बसोबास गरिरहेका बालबालिकाका लागि स्टेशनरी सामग्री र दुवै आश्रमका लागि खाद्यान्न सामग्री समेत प्रदान गरेको हो। कार्यक्रममा गाउँपालिका शिक्षा शाखाका प्रमुख संजय कर्ण, नेपाल तरुण दलका नेता लोकेश आचार्य, सञ्चारकर्मी राकेश कुमार मिश्र लगायतको उपस्थिति रहेको थियो।

>









Discussion about this post