साउदी अरब । नेपालमा हालै आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका परिवारलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल आदिवासी जनजाति महासंघ, साउदी अरबले आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ।
महासंघको हालै बसेको बैठकले विपद्बाट प्रभावित परिवारलाई तत्कालीन राहत उपलब्ध गराउन आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको हो। महासंघले विपद्को यस कठिन घडीमा मानवीय भावनाका साथ सहयोग गर्न साउदी अरबमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक अपिल गरेको छ।राहत संकलन अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन महासंघका वरिष्ठ उपाध्यक्ष चित्र कुमार चाम्लिङ राईको नेतृत्वमा ओम कुमाल, मन देवान र राज चेम्जुङ लिम्बू सदस्य रहेको आर्थिक संकलन समिति गठन गरिएको छ।
समितिले संकलित सहयोगलाई प्रभावित क्षेत्रका पीडितसम्म पुर्याउन आवश्यक समन्वय गर्ने जनाएको छ।त्यस्तै, महासंघका अध्यक्ष रोशन कुमार श्रेष्ठ र महासचिव पासाङ शेर्पाले राहत अभियानमा प्रत्यक्ष समन्वय तथा सहकार्य गर्ने भएका छन्।
महासंघले विपद्को समयमा सबै नेपाली एकजुट भएर सहयोगका हात अगाडि बढाउन आग्रह गर्दै संकलित सहयोगलाई पीडित परिवारको तत्कालीन राहत तथा आवश्यक पुनर्स्थापनामा उपयोग गरिने जनाएको छ।
“विपद्मा परेका दाजुभाइ तथा दिदीबहिनीहरूको पीडामा सानो भए पनि मल्हम लगाउन सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरौं,” महासंघले अपिल गरेको छ।

>









Discussion about this post