रियाद । माघ १३ गते नेपाल र साउदी अरबबीच सम्पन्न श्रम सम्झौताको सन्दर्भमा विभिन्न महत्वपूर्ण विषयवस्तुहरूमा विस्तृत छलफल सम्पन्न भएको छ।
छलफलका क्रममा नेपाली श्रमिकको तलब संरचना सम्झौतामा स्पष्ट रूपमा उल्लेख नगरिएको विषय उठान भएको छ। साथै, घरेलु महिला कामदारहरू सम्बन्धी कुनै पनि विषयमा हालसम्म सहमति हुन नसकेको जानकारी दिइएको छ। यस विषयमा साउदी सरकारबाट औपचारिक अपेक्षा गरिए पनि अहिलेसम्म आवश्यक गृहकार्य भइरहेको बताइएको छ।
त्यसैगरी, फ्री भिजा, फ्री टिकट जस्ता विषयहरू, श्रमिकहरूप्रति सम्बन्धित निकायको जिम्मेवारी, दूतावासको स्रोत र साधनको अवस्था, साउदी अरबको पूर्वी क्षेत्रमा स्थानीय कर्मचारीको माग, नेपालमा जिन्जी आन्दोलनपछि उत्पन्न परिस्थितिहरू, त्यसको निराकरण, देशको समग्र अर्थतन्त्र लगायतका विषयमा समेत गहन बहस भएको छ।
कार्यक्रममा सहभागी मन्त्री तथा वैदेशिक रोजगार विभागका कर्मचारीहरूले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको अधिकार संरक्षणलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। आफ्नो कार्यकालमा श्रमिकका हक–हितका लागि सक्दो राम्रो काम गर्ने र वैदेशिक रोजगारीमा विद्यमान सिन्डिकेट प्रणालीको अन्त्य गर्ने स्पष्ट धारणा उनीहरूले राखेका छन्।
मन्त्रीको साउदी अरब आगमनको अवसर पारेर प्रवास विभाग, राष्ट्रिय स्वतन्त्र पार्टीले श्रमिकहरूको हक–हितप्रति ध्यानाकर्षण गराउँदै एक विज्ञप्ति हस्तान्तरण गरेको छ।

छलफलमा साउदी अरबमा कार्यरत नेपाली कामदारहरूको सुरक्षा, स्वास्थ्य, पारदर्शिता, सम्बन्धित कम्पनीहरूको निगरानी, साथै दक्ष र अनुभवी कामदारको आवश्यकताबारे समेत छलफल गरिएको जनाइएको छ।
यस छलफलले नेपाल–साउदी श्रम सहकार्यलाई अझ व्यवस्थित, सुरक्षित र श्रमिकमैत्री बनाउने दिशामा महत्वपूर्ण सन्देश दिएको सहभागीहरूको भनाइ छ।


>










Discussion about this post