कैलाली, असार ८ — कैलाली जिल्लाको गौरीगंगा नगरपालिका–७, कैलाशपुरमा एक दर्दनाक र रहस्यमय घटना सार्वजनिक भएको छ। १९ वर्षीया सुत्केरी महिला तुलसी नाथ शुक्रबार बिहान आफ्नै घर नजिकैको नालामा मृत अवस्थामा फेला परेकी छन्। घटना शुक्रवार, असार ६ गते बिहानको हो।
१६ दिनअघि मात्रै सुत्केरी भएकी तुलसीको मृत शरीर भेटिएसँगै स्थानीयमा शोक र आक्रोश फैलिएको छ। उनको नवजात शिशु भने सकुशल रहेको जनाइएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार हत्या भएको आशंका गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार घटनाको प्रकृति शंकास्पद देखिएकोले अनुसन्धान तीव्र पारिएको छ। स्थानीय स्रोतका अनुसार, मृतकका देवर नवीन नाथले हत्या गरी नाक र कानको सुन लुटेको आशंका गरिएको छ। यद्यपि, प्रहरीका अनुसार यसबारे थप प्रमाण संकलन भइरहेको छ र घटनाको विस्तृत विवरण अनुसन्धानपछि मात्र खुलासा हुनेछ।
शवलाई पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पठाइएको छ। प्रहरीका अनुसार अनुसन्धान पश्चात दोषीलाई कडाभन्दा कडा कारबाही गरिनेछ। स्थानीयबासीले दोषीलाई छिटो कारबाही गर्न माग गर्दै न्यायको माग गरेका छन्। यो घटना सुत्केरी महिलाको सुरक्षाप्रति पनि गम्भीर प्रश्न उठाउँदैछ।

Discussion about this post