चितवन > राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र उत्पन्न विभिन्न विवाद, अनुशासनहीनता र आन्तरिक छलफलबीच पत्रकार सन्तोष देउजाले आफूले विगतमा गरेको भूमिकाबारे विस्तृत रुपमा धारणा सार्वजनिक गरेका छन्। उनले रास्वपाभित्र भएका ठूला अनियमितता, गलत गतिविधि र संवेदनशील घटनाहरूमा पर्दा उघार्ने काम आफूले गरेको दाबी गरेका छन्।
देउजाका अनुसार, पार्टीले ठूलो क्षति भोग्नुपर्ने अवस्थाबाट जोगिन उनले विभिन्न चरणमा संवेदनशील विषयहरू उजागर गरेका थिए।
मन्त्री बन्न २ करोड घुस माग्ने प्रकरण
उनले मन्त्री बन्न २ करोड मागेको आरोप लागेका ढाका कुमार श्रेष्ठको प्रकरण सार्वजनिक गर्नु आफ्नो पहलबाट सम्भव भएको दाबी गरे। “यदि त्यो खुलासा गरेको नभएको भए एसिड पीडित बिन्दबासिनी कंसाकार कहिल्यै सांसद बन्न पाउने थिइनन्,” देउजाले भने। उनका अनुसार घुसिया प्रवृत्तिको व्यक्तिले मन्त्री बन्ने बाटो खुल्ने खतरा थियो।
ड्राइभर आफैँ खसेको भिडियो
रवि लामिछाने र उनको टिमलाई हत्या आरोप लाग्न सक्ने संवेदनशील अवस्थामा ड्राइभर आफैँ खसेको वास्तविक भिडियो सार्वजनिक गर्ने काम पनि आफूले गरेको देउजाले बताएका छन्। “यदि त्यो भिडियो बाहिरिएको नभएको भए घटनाले गम्भीर मोड लिन सक्थ्यो,” उनले भने।
अमर्यादित पोष्ट र अराजक गतिविधि गर्ने समर्थक नियन्त्रण
सामाजिक सञ्जालमा अमर्यादित सामग्री राख्ने र प्रदर्शन भड्काउने गतिविधिमा संलग्न केही रास्वपा समर्थकलाई एक–एक रात हिरासतमा राख्न भूमिका आफूले खेलेको देउजाको दाबी छ। उनका अनुसार, यसले पार्टीलाई अराजक समूहको नियन्त्रणमा पर्ने जोखिमबाट जोगाएको थियो।
लण्डनको निजी सडक उद्घाटन रोक्न सहयोग
रवि लामिछाने युकेमा ३ सय मिटर निजी पक्की सडक उद्घाटन गर्न पुगेका बेला, त्यो कदमले नकारात्मक सन्देश जाने भएकाले मिडियाबाट सचेत गराएर उक्त कार्यक्रम रोक्न भूमिका आफूले खेलेको देउजाको भनाइ छ। “यदि रोकिएको नभएको भए निर्वाचन क्षेत्रमा केही गर्न नपाएको व्यक्तिले विदेशमा निजी सडक उद्घाटन गरेको गलत सन्देश जाने थियो,” उनले भने।
अमेरिकामा लामिछानेबारे फैलिएको भ्रम चिर्ने दाबी
अमेरिकामा लामिछानेले गरेका काम र त्यहाँको छवि बारे वास्तविकता जनतासमक्ष प्रस्तुत गरेर ‘ठूलो भ्रम चिरेको’ दाबी पनि देउजाले गरेका छन्।
यति योगदान हुँदाहुँदै पनि आफूलाई रास्वपा समर्थकले “खेदो खन्ने पात्र”का रूपमा मात्रै हेरेको गुनासो उनले पोखेका छन्। तर पार्टीभित्रैका केही व्यक्तिले पछाडिबाट छुरा रोपिरहेको बेला उनीहरूलाई समर्थकहरूले ‘वाहवाही’ गरेको आरोप पनि उनले लगाएका छन्।
देउजाले भनेका छन्, “आज ती नक्कली पात्रहरू भटाभट बाहिरिँदैछन्। भित्रबाट सन्तोष परियारले धोका दिए पनि पार्टी बाहिरको सक्कली सचेतकले रवि दाइलाई सदैव साथ दिन्छ।”
उनका अनुसार, उनी दुई पटक हिरासतमा समेत भेटेर रवि लामिछानेप्रति समर्थन जनाइसकेका छन्। “सहानुभूति नभएको भए त्यति धाई–धाई कहाँ भेट्न जान्थेँ?” उनले भने।

>










Discussion about this post