तोसीमा कार्कीज्यू,
नमस्ते ।।
आज तपाईंको अभिव्यक्ति सुन्दा मन भारी भयो।
पत्रकारको प्रश्नमा “सभापतिको रिफर्मेशन खोजेको” भनिएको आरोपप्रति तपाईंले दिएको प्रतिक्रिया,
आक्रोश वा धोको मानेर होइन,
बल्कि तपाईंभित्र दबिएको सत्य ओकलिएको जस्तो लाग्यो।
अरूलाई झूट बोल्न सकिएला,
तर आफूलाई आफैँ झूट बोल्न नसकिन्छ भन्ने तपाईंको वाक्य—
त्यो घनघोर राजनीतिक धुँवाधारबीचको एकदम स्पष्ट सत्य हो।
तोसीमाज्यू,
तपाईंहरूले निरन्तर खेप्दै आउनुभएको राजनीतिक प्रहार,
असहज र चुनौतीपूर्ण परिस्थिति,
त्यसैबीच पार्टीभित्रको तपाइँको कठोर लगनशीलता—
भ्रष्टाचार र बेथितिविरुद्ध खरो आवाज—
यिनैले हामी जस्ता लाखौँ युवालाई
रास्वपा भिन्न छ, यो पार्टीमा भविष्य छ भन्ने विश्वास दिलाएका थिएँ।

तर अहिले?
पार्टी संकटमा छ।
सभापति बन्धक बनेझैँ स्थिति छ।
यही बेला त तपाईंहरू एक—अर्कामा निर्भर भएर,
अझै मजबुत भएर,
एकताबद्ध भएर उभिनुपर्ने थियो।
तर ठ्याक्कै उल्टो—
नेतृत्वभित्रै आक्रामक शैलीमा आरोप–प्रत्यारोप।
हामीजस्ता जनताले अब केमा भरोसा गर्ने?
कसरी पत्याउने कि यही पार्टीले
हाम्रो निराशा, वितृष्णा पार लगाएर देशमा सुशासन र समृद्धि ल्याउँछ?

म त एउटा प्रवासी युवा मात्र हुँ।
तर मेरो भावना लाखौँ परदेशीको भावना हो—
देश छोडेर काम गर्दै, पसिना बगाउँदै
दूरबाटै राजनीतिमा आशा बोकेर बसेका
हामी हजारौँ मान्छेको मनमा चोट पुगेको छ।
तपाईं, सभिता गौतमज्यू, र अरू युवानेताहरू—
हामीले तपाईँहरूलाई “ढुकडुकी” मानेका छौँ।
तपाईंहरूकै काधमा पार्टीको भविष्य,
नयाँ पुस्ताको राजनीतिक आशा,
र देशप्रति आम युवाको भरोसा टकिएको छ।
त्यसैले—
किचलो, रोइलो, आन्तरिक कलह—
हामीले तपाईंहरूबाट अपेक्षा गरेको चीज होइन।
हामीले अपेक्षा गरेको—
हिम्मत, धैर्य, सहनशीलता,
र पार्टीलाई संस्थागत रूपमा अझ बलियो बनाउने
दृढ नेतृत्व हो।
तोसीमाज्यू,
अब त्यसैका लागि तपाईं उठ्नु पर्छ।
उकास्नु पर्छ—स्वतन्त्रता, पारदर्शिता र सुधारको झन्डा बोकेर।
हामी परदेशमा बस्ने युवाहरू
तपाईंहरूप्रति माया, सम्मान, भरोसा र नमन लिएर उभिएका छौँ।
त्यो विश्वास चकनाचुर नहोस्,
त्यसका लागि तपाईंहरूले नै पार्टीभित्र
एकताबद्ध, स्थिर, र जिम्मेवार नेतृत्व देखाउनैपर्छ।
प्रश्न एउटै छ—
पार्टी यही बेला कसरी संस्थागत रूपमा मजबुत बनाउने?
उत्तर तपाईंहरूकै सामु छ।
हामी त यहाँबाट तपाईंहरूको दृढता,
एकता, अनि सुसासनप्रतिको प्रतिवद्धता हेर्न चाहन्छौँ।

यसै आशामा—
यो चिठी तपाईंको मनसम्म पुग्ला भनेर
एक प्रवासी युवाले लेखेको
निस्कपट चाहना मात्र बुझिदिनुहोला।
एक प्रवासी युवा

>










Discussion about this post