सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टीका सिन्धुली–२ का उम्मेदवार आशिष गजुरेलले आज फागुन ५ गते पत्रकार सम्मेलन गर्दै आफ्नो चुनावी एजेन्डा समेटिएको बाचा–पत्र सार्वजनिक गर्नुभएको छ।
सिन्धुलीमै जन्म–हुर्कनु भएका गजुरेल मेहनती र इमानदार व्यक्तित्वका रूपमा परिचित छन्। जर्मनीबाट इन्जिनियरिङमा उच्च शिक्षा हासिल गरेका उहाँ नेपाल सरकारको यातायात विभागमा प्रमुख सिईओ पदसम्म कार्यरत रहनुभएको थियो। चोभार क्षेत्रको निर्माण कार्यसहित देशका विभिन्न सडक तथा पूर्वाधार आयोजनामा उल्लेखनीय योगदान पुर्याइसक्नुभएका गजुरेलले नेपालमा सडक निर्माणमा आमूल परिवर्तन ल्याउने प्रतिबद्धता बाचा–पत्रमा उल्लेख गर्नुभएको छ।

बाचा–पत्रमा स्वास्थ्य, शिक्षा, रोजगारी, आधुनिक कृषि उत्पादन, बजार व्यवस्थापन, दुर्घटनारहित सडक निर्माण, पर्यटन स्थल विकास तथा सिन्धुलीको पहिचानका रूपमा रहेको जुनार–सुन्तला उत्पादन प्रवर्द्धनलाई प्राथमिकताका रूपमा समेटिएको छ।
सरकारी सेवाबाट राजीनामा दिएर सक्रिय राजनीतिमा प्रवेश गर्नुभएका गजुरेल पछिल्लो समय जनताको घर–घरमा पुगेर आफ्ना योजना र प्रतिबद्धता राख्दै आउनुभएको छ। जिल्लामा रास्वपाप्रति जनआकर्षण बढ्दै गएको र चुनावी माहोल सकारात्मक बन्दै गएको देखिन्छ।

राजनीतिमा पहिलो पटक उम्मेदवारी दिए पनि गजुरेलले व्यापक जनसमर्थन पाएको स्थानीयको भनाइ छ। “यति योग्य उम्मेदवार पाउनु सिन्धुलीका लागि गर्वको विषय हो,” भन्दै स्थानीयहरू उत्साहित देखिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुलीले संगठन विस्तारलाई तीव्रता दिएको छ। जिल्ला, नगर तथा क्षेत्रीय समितिहरूको पूर्ण साथ र समर्थन गजुरेललाई प्राप्त भएको पार्टीले जनाएको छ। पार्टीका नेता तेज सिलवालका अनुसार पुराना दलहरूको विरासतबाट दिक्क भएका मतदाताको आशा र भरोसा अहिले रास्वपामै केन्द्रित भएकाले जित सुनिश्चित हुने आधार बलियो बन्दै गएको छ।

>










Discussion about this post