हिट फिल्मको सिक्वेलमा काम गरेपछि कलाकारलाई के विश्वास हुन्छ भने सफलता पक्का हो । तर, सबै हिट फिल्मको सिक्वेल हिट नै हुन्छ भन्ने ग्यारेन्टी हुन्न । ‘दर्पण छायाँ’ को सिक्वेल यसको उदाहरण हो । २ दशक अगाडिको ब्लकबस्टर फिल्मको नाम सापटी लिएर निर्देशक तुलसी घिमिरेले ‘पार्ट टू’ बनाए । तर, फिल्मले भित्तामा टाँस्न बनाइएको पोस्टरको पैसा समेत उठाएन । ‘दर्पण छायाँ २’ बाट अभिनेत्रीको रुपमा डेब्यू गर्दैगर्दा सहारा कार्कीलाई सफलता आफ्नै पोल्टामा हो भन्ने लागेको थियो ।
अभिनेत्री निरुता सिंहझैँ आफू पनि दर्शकको मनमा बस्न सफल हुनेमा उनी विश्वस्त थिइन् । तर, नतिजा उनले सोचेभन्दा विपरित आयो । उनलाई पहिलो गाँसमै ढुंगा लाग्यो । उनको अभिनय दर्शक र समीक्षकले रुचाए पनि फिल्मको असफलताले त्यसलाई छोप्यो । अभिनेत्री बन्न अमेरिकाबाट नेपाल आएकी उनी पहिलो फिल्म असफल भएपछि पुनः अमेरिका फर्किइन् । त्यसपछि उनले नेपाल फर्किएर नयाँ फिल्ममा काम गरेकी छैनन् ।

जसले गर्दा ‘दर्पण छायाँ २’ नै उनको पहिलो र अन्तिम फिल्म त होइन भन्ने आशङ्का स्वभावतः जन्मिएको छ । गत ९ महिनाअघि अमेरिकामा खिचिएको एक म्यूजिक भिडियोमा दर्शकले उनलाई देख्न पाएका थिए । उनै, सहारा कार्की मंगलवार आफ्नो जन्मदिन मनाउँदैछिन् । परिवारसहित अमेरिकामा बस्दै आएकी उनलाई उनका प्रेमी फिरोज तिमल्सिनाले विशेष रुपमा ‘बर्थडे विस’ गरेका छन् । ‘यो एक सुरुवात हो, जन्मदिनको शुभकामना मेरो प्रेम’, उनले सहारासँगको एक रोमान्टिक तस्विर पोस्ट गर्दै फेसबुकमा लेखेका छन् । यो जोडीले फिल्म ‘दर्पण छायाँ २’ मा एकसाथ काम गरेको थियो ।



Discussion about this post