रियाद, साउदी अरेबिया — नेपाली राजदूतावास रियादले एक सूचना जारी गर्दै हुरूब लागेका २० जना र अन्य ५१ जना गरी जम्मा ७१ जना नेपाली नागरिकको एक्जिट भिसा प्राप्त भएको जानकारी गराएको छ।
एक्जिट भिसा प्राप्त भइसकेका नेपालीहरूमध्ये नाम समावेश सूची राजदूतावासमार्फत सार्वजनिक गरिएको छ। उनीहरूलाई यथाशिघ्र स्वदेश फर्कन अनुरोध गरिएको छ।

यसै क्रममा, राजदूतावासले भिषाको अवस्था जाँच गर्नको लागि एक अनलाइन सुविधा पनि उपलब्ध गराएको छ। फारम भरेका व्यक्तिहरूले https://sa.nepalembassy.gov.np/check-exit-status/ मा गएर आफ्नो इकामा नम्बर वा राहदानी नम्बर प्रविष्ट गरेर एक्जिट भिसाको स्टाटस हेर्न सक्नेछन्।
यदि कसैलाई मोबाइलमा भिसा लागेको सन्देश प्राप्त भएको छैन भने, दमाम क्षेत्रमा कार्यरत जनसम्पर्क अधिकारीसँग सम्पर्क गरी एक्जिट भिसाको पेपर लिन अनुरोध गरिएको छ। तर यदि म्यासेज प्राप्त भइसकेको छ भने सो म्यासेज देखाएरै एयरपोर्टमा यात्रा गर्न सकिनेछ, राजदूतावासमा उपस्थित हुन आवश्यक नपर्ने स्पष्ट गरिएको छ।

राजदूतावासका अनुसार एक्जिट भिसा प्रक्रिया पूर्ण रूपमा निःशुल्क छ। यस बापत कुनै शुल्क तिर्नु नपर्ने तर नेपाल फर्किन आवश्यक पर्ने हवाई टिकट भने व्यक्तिले आफैं व्यवस्था गर्नु पर्नेछ।
त्यस्तै, एक्जिट भिसामा उल्लेख भएको राहदानी वा ट्राभल डकुमेन्टको नम्बर आफूसँग भएको डकुमेन्टसँग मिल्दो छ कि छैन, पक्का गरेर मात्र हवाई टिकट खरिद गर्न आग्रह गरिएको छ।
नोट: केही महिना रोकिएको एक्जिट भिसा प्रक्रिया अहिले पुनः सुरु गरिएको छ। हाल सयौं आवेदनहरु साउदीको लेबर अफिसमा ‘क्युएमा’ रहेको हुँदा सबै नेपालीलाई धैर्यपूर्वक प्रतीक्षा गर्नसमेत राजदूतावासले अनुरोध गरेको छ।
थप जानकारीका लागि राजदूतावास रियादको फेसबुक पेजमा रहेका सूचनाहरू हेर्न सकिनेछ। आवश्यक परेमा, निम्न सम्पर्क नम्बरहरूमा फोन गरेर जानकारी लिन सकिनेछ:
? बिहान ९:००–बेलुका ४:०० : ०११–४६१११०८
? दिउँसो ३:००–बेलुका ४:०० : ०११–२८८३७९५
? नेपाली महावाणिज्यदूतावास, जेद्दा : ०१२–६२२६६६५
नेपाली राजदूतावास, रियाद
मिति: २०८२ असार २५ (०९ जुलाई २०२५)
Discussion about this post