रियाद, साउदी अरेबिया । अन्जान गुभाजु साउदी अरेबियाको राजधानी रियादमा आयोजित झापाली समाज–साउदी अरेबियाको तेस्रो महाधिवेशन तथा सांस्कृतिक कार्यक्रम चर्चित गायिका रचना रिमालको सुमधुर सांगीतिक प्रस्तुतिले विशेष आकर्षणको केन्द्र बनेको छ। शुक्रबार सम्पन्न कार्यक्रममा रिमालले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दा कार्यक्रममा सहभागी नेपाली दर्शकहरू मन्त्रमुग्ध बनेका थिए।

वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरेबियामा रहेका नेपालीहरूको बाक्लो उपस्थितिबीच रिमालले विभिन्न लोकप्रिय गीत प्रस्तुत गरेकी थिइन्। उनी मञ्चमा उत्रिएसँगै दर्शकहरूले ताली, हुटिङ तथा नृत्यमार्फत उत्साहजनक साथ दिएका थिए। लामो समयदेखि घरदेश र नेपाली सांगीतिक वातावरणबाट टाढा रहेका प्रवासी नेपालीहरूका लागि रिमालको प्रस्तुति मनोरञ्जनसँगै नेपालीपनको अनुभूति गराउने विशेष अवसर बनेको थियो। उनको सुमधुर स्वर, ऊर्जावान प्रस्तुति र लोकप्रिय गीतमा दर्शकहरूको उत्साहपूर्ण सहभागिताले कार्यक्रमस्थलको माहोललाई थप जीवन्त बनाएको थियो। रिमालसँगै म्हेन्दोमाया मोडल तथा डान्सर पारु वाइवा तामाङ, नेपाली नृत्य समूह रियाद र स्थानीय कलाकार समेत आकर्षक प्रस्तुति दिएका थिए।

यसैबीच, झापाली समाज–साउदी अरेबियाको तेस्रो महाधिवेशनले राजु बराललाई नयाँ अध्यक्षमा चयन गरेको छ। त्यस्तै गोपालप्रसाद आचार्य महासचिवमा चयन भएका छन्। नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ढुंगेल, उपाध्यक्षमा श्रीदेवी सुतार कार्की र गङ्गा केरुङ लिम्बु, महिला उपाध्यक्षमा कृष्णमाया हुमागाईं आचार्य, सहसचिवमा दिवस घिमिरे तथा कोषाध्यक्षमा राजेश गौतम चयन भएका छन्। सह–कोषाध्यक्ष पद भने पछि चयन गरिने जनाइएको छ।

समाजको नयाँ कार्यसमितिका सदस्यहरूमा रमेश सिटौला, सन्तोष पाठक, भोला पौडेल, कुमार बराइली, मेनीउप्रेती, मिना न्यौपाने, मनोहरी सिटौला, पूर्णप्रसाद नेपाल, मनोज बिष्ट, नवीन रिजाल, शिव न्यौपाने, रविन अधिकारी, चुनामणि शंकर, बिपिन केरुङ, गोपाल भण्डारी र नैना लिम्बु रहेका छन्। त्यसैगरी प्रमुख सल्लाहकारमा रबिन गिरी चयन भएका छन् भने सल्लाहकारहरूमा राजेन्द्र थापा, होम थापा, काजिमान कन्दङ्वा, बलराम थापा, किरण चौधरी, इन्द्र गिरी, रमेश भट्टराई र बलबहादुर गिरी चयन भएका छन्।

कार्यक्रम समाजका अध्यक्ष रबिन गिरीको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली दूतावास, रियादकी कार्यवाहक राजदूत सिर्जना अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। त्यस्तै लेबर काउन्सिलर कबिराज उप्रेती, साउदी अरेबियामा सक्रिय विभिन्न नेपाली संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधि, सामाजिक अभियन्ता, पत्रकार तथा नेपाली समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले प्रवासमा रहेर पनि नेपाली भाषा, कला, संस्कृति र आपसी सद्भावको संरक्षण तथा प्रवर्द्धनमा झापाली समाजले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेका थिए।

कार्यक्रममा सहभागी हुन २५ साउदी रियाल प्रवेश शुल्क तोकिएको थियो। समाजका अध्यक्ष रबिन गिरीका अनुसार कार्यक्रम मनोरञ्जनमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्वसँग समेत जोडिएको थियो। कार्यक्रमबाट संकलित रकममध्ये सम्पूर्ण खर्च कटाएर बाँकी रहने रकम वृद्धाश्रमलाई सहयोग गरिने उनले जानकारी दिएका छन्। साउदी अरेबियामा नेपाली श्रमिकहरूको राहत, उद्धार तथा विभिन्न सामाजिक अभियानमा सक्रिय रहँदै आएको झापाली समाजले नेपाली कला, संस्कृति, मनोरञ्जन र समाजसेवालाई एकै ठाउँमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ।
कार्यक्रम भव्य र मनोरञ्जनात्मक रहे पनि क्याटरिङ सेवामार्फत उपलब्ध गराइएको पानी तथा खानाको मूल्य महँगो भएको भन्दै केही दर्शकले गुनासो गरेका थिए। ठूलो संख्यामा नेपाली दर्शक सहभागी हुने यस्ता कार्यक्रमहरूमा खानपिन तथा अन्य सेवाको मूल्यलाई सहज र पारदर्शी बनाउन आयोजक तथा व्यवस्थापन पक्षले आगामी दिनमा थप ध्यान दिनुपर्ने देखिएको सहभागीहरूको भनाइ थियो। दर्शकको सुविधा, उचित मूल्य र व्यवस्थित व्यवस्थापनले यस्ता कार्यक्रमप्रतिको सकारात्मक सन्देशलाई अझ बलियो बनाउन सक्ने उनीहरूको धारणा थियो।
समग्रमा रचना रिमालको सांगीतिक प्रस्तुति, पारु वाइवा तामाङको म्हेन्दोमाया प्रस्तुति, नेपाली नृत्य समूह रियादको आकर्षक प्रस्तुति तथा झापाली समाजको नयाँ नेतृत्व चयनसँगै कार्यक्रमले रियादमा रहेका नेपाली समुदायमा उत्साह थपेको छ। प्रवासमा नेपाली कला, संस्कृति, मनोरञ्जन र सामाजिक सेवाको संयोजनका रूपमा आयोजित यस कार्यक्रमले नेपाली समुदायबीच आपसी एकता, सद्भाव र सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

>










Discussion about this post