झापाली समाज साउदी अरेबियाको आयोजनामा गत शुक्रबार (अगस्ट ७) मा तेस्रो अधिवेशन तथा भव्य सांगीतिक कार्यक्रम सम्पन्न भएको छ। चर्चित राष्ट्रिय गायिका रचना रिमालको विशेष सांगीतिक प्रस्तुति रहेको उक्त कार्यक्रममा नेपाली राजदूतावास रियादका कार्यवाहक राजदूत तथा दूतावासका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रम भव्य रूपमा सम्पन्न भएकोमा आयोजक समाजले दूतावासका प्रतिनिधि, अतिथिहरू, कलाकार, विभिन्न नेपाली संघ–संस्था, व्यवसायी, समाजसेवी, स्वयंसेवक तथा उपस्थित सम्पूर्ण नेपाली समुदायप्रति हार्दिक आभार व्यक्त गरेको छ।
कार्यक्रममा दर्शकको अत्यधिक उपस्थिति भएपछि हलको क्षमताभन्दा बढी भीड जम्मा भई सिट व्यवस्थापनमा कठिनाइ उत्पन्न भएको आयोजकले स्वीकार गरेको छ। अत्यधिक गर्मी र भीडका कारण कतिपय दर्शक हलको गेटबाहिर बस्नुपरेको र हलभित्र असहज वातावरण सिर्जना भएकोप्रति समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कार्यक्रममा आएका दर्शकले भोग्नुपरेको गर्मी, भीड र असुविधालाई संस्थाले आत्ममूल्याङ्कन गर्दै आगामी दिनका लागि एउटा महत्त्वपूर्ण पाठका रूपमा लिएको जनाएको छ।
सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट प्राप्त प्रतिक्रिया, सुझाव, आलोचना र हलभित्रको खानपिन व्यवस्थापनसम्बन्धी आएका गुनासाहरूलाई संस्थाले ध्यानपूर्वक अध्ययन गरेको स्पष्ट पारेको छ।

कुनै पनि क्याटरिङ वा सेवा प्रदायकलाई सहभागीहरूलाई असुविधा हुने गरी काम गर्न निर्देशन नदिइएको भए तापनि कार्यक्रमस्थलमा दर्शकले भोगेका सास्ती र अव्यवस्थाको जिम्मेवारीबाट संस्था नपन्छिने समाजले जनाएको छ। कार्यक्रममा देखिएका कमजोरीलाई सुधार्दै आगामी दिनमा मौसम अनुकूलको स्थान छनोट, पर्याप्त सिट व्यवस्थापन, प्रवेश–निकास र आधारभूत सुविधाहरूलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।
ठूलो भीड वा भव्य मञ्च मात्र कार्यक्रमको सफलता नभई सहभागी प्रत्येक व्यक्तिले राम्रो अनुभव र सम्मान लिएर फर्कनु नै वास्तविक सफलता भएको समाजले उल्लेख गरेको छ। कार्यक्रमका क्रममा असुविधा, दुःख वा निराशा भोग्नुपरेका सम्पूर्ण दर्शक तथा शुभेच्छुकहरूप्रति समाजले हृदयदेखि नै क्षमायाचना गरेको छ।
“हामी पूर्ण छैनौँ, तर हाम्रो नियत खराब थिएन। हामीबाट भएका कमजोरी दोहोरिन नदिन प्रतिबद्ध छौँ,” भन्दै आलोचनालाई सुधारको आधार बनाउने जनाइएको छ।
झापाली समाजका निवर्तमान अध्यक्ष रविन गिरीद्वारा जारी विज्ञप्तिमा समाजलाई आपसी सद्भाव, सहयोग, एकता र सामाजिक सेवाको साझा अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ। आगामी दिनमा अझ व्यवस्थित, जिम्मेवार, पारदर्शी र सहभागीमैत्री कार्यक्रममार्फत नेपाली समुदायको विश्वासलाई थप मजबुत बनाउँदै लैजाने विज्ञप्तिमा उल्लेख छ। अन्जान गुभाजु

>










Discussion about this post