अन्जान गुभाजु खोबार, साउदी अरब — तमु धिँ नेपाल, प्रवास शाखा साउदी अरबले तमु समुदायको मौलिक राष्ट्रिय पर्व तमु ल्होसार विशेष शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाएको छ।
साउदी अरेबियाको पूर्वी प्रान्त अल–खोबारस्थित क्लासिक होटलमा आयोजित ‘त् ल्हो तमु ल्होसार २०८२’ कार्यक्रम नेपाली दूतावास साउदी अरबकी कार्यबाहक राजदूत सिर्जना अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रम तमु धिँ साउदीका अध्यक्ष खेम तमुको सभापतित्वमा सम्पन्न भयो।
कार्यक्रममा साउदी अरबस्थित विभिन्न संघ–संस्थाका प्रतिनिधि, तमु समुदायका सदस्यहरू तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। तमु संस्कृतिअनुसार झाँकी प्रस्तुत गर्दै सप्रि लो लाई सेसे गरी नयाँ वर्ष ‘त् ल्हो’ लाई स्वागत गरिएको थियो भने तमु संस्कार, संस्कृति र परम्पराबारे जानकारी गराइएको थियो। कार्यक्रमको सुरुवात नेपाली राष्ट्रिय गान तथा तमु राष्ट्रिय गीतबाट गरिएको थियो।
उद्घाटन प्रमुख अतिथि कार्यबाहक राजदूत सिर्जना अधिकारीले गर्नुभएको थियो। औपचारिक र अनौपचारिक गरी दुई चरणमा सम्पन्न कार्यक्रममा तमु तथा नेपाली संस्कृतिलाई झल्काउने विविध सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएका थिए। फरक सांस्कृतिक परिवेश रहेको साउदी अरबमा तमु भेषभूषा, नेपाली राष्ट्रिय परिकार सेलरोटी लगायतका सामग्रीहरू विशेष आकर्षणका रूपमा प्रस्तुत गरिएका थिए।
कार्यक्रममा प्रमुख अतिथिको शुभकामना मन्तव्य तथा सभापतिको अध्यक्षीय सम्बोधन रहेको थियो। कार्यक्रममा नेपालबाट राष्ट्रिय कलाकार गायिका माया गुरुङलगायत कलाकारहरू उपस्थित हुने तय भए पनि प्राविधिक कारणवश आउन नसकेको जानकारी अध्यक्ष खेम तमुले गराउनुभयो। तमु समुदायको भाषा, संस्कृति र पहिचानलाई प्रवासमा पनि जगेर्ना गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रम सहभागीहरूले उत्साहपूर्वक मनाएका थिए।
Discussion about this post