आभा खमिस, साउदी अरब। साउदी अरबको आभा खमिसस्थित हिमालयन नेपाली रेष्टुरेन्टको आयोजनामा तथा हातेमालो प्रवासी नेपाली समूहको सहकार्यमा सम्पन्न “भेटघाट तथा बृहत् सांस्कृतिक कार्यक्रम २०८३” मा नेपालबाट आमन्त्रित चर्चित गायिका लक्ष्मी स्याङ्तान तामाङ को आकर्षक प्रस्तुती मुख्य आकर्षण बनेको छ।
कार्यक्रममा गायिका तामाङले आफ्ना लोकप्रिय तामाङ सेलो तथा लोकदोहोरी गीतहरू प्रस्तुत गर्दै उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरिन्। उनका गीतसँगै दर्शकहरू नाचगानमा सहभागी बनेका थिए भने कार्यक्रमस्थल लामो समयसम्म उत्साह र उल्लासले भरिएको थियो।

विदेशी भूमिमा रहेर आफ्नो भाषा, कला र संस्कृतिप्रति मोह राख्ने नेपाली समुदायका लागि लक्ष्मी स्याङ्तान तामाङको प्रस्तुती विशेष उपहार बनेको सहभागीहरूले बताएका छन्। उनले गीतमार्फत नेपालीपन, संस्कृति र मौलिकतालाई जीवन्त बनाउँदै प्रवासी नेपालीहरूको मन जित्न सफल भएकी थिइन्।
कार्यक्रममा स्थानीय कलाकारहरूले समेत विविध सांस्कृतिक प्रस्तुती दिएका थिए। तथापि, नेपालबाट विशेष अतिथिका रूपमा सहभागी भएकी लक्ष्मी स्याङ्तान तामाङको प्रस्तुतीले दर्शकको सर्वाधिक ध्यान आकर्षित गरेको आयोजकले जनाएको छ।
कार्यक्रमले प्रवासी नेपालीहरूबीच आपसी सद्भाव, एकता तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाएको विश्वास व्यक्त गरिएको छ। आयोजकका अनुसार आगामी दिनहरूमा पनि यस्ता सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिँदै नेपाली कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याइनेछ।

>










Discussion about this post