कोरोना भाइरसबाट बच्न सचेतनामुलक अभियान शुरु
डुडुवा (बाँके), ५ चैत । कोरोना भाइरसको संक्रमणविरुद्ध बच्नका लागि डुडुवा गाउँपालिकाले सचेतनामुलक अभियान सञ्चालन गरेको छ । विश्वव्यापी रुपमा नै कोरोनाको संक्रमण देखिएपछि नागरिकहरु त्रसित बन्न थालेपछि गाउँपालिकाले त्यसको संक्रमणबाट बच्ने उपायका बारेमा चेतनामुलक अभियान थालेको हो ।
वार्ड नंं २ को बेतहनीमा आज बुधबार नागरिक सचेतना कार्यक्रम गरिएको छ । कार्यक्रममा सहभागि स्थानीयहरुलाई कोरोना भाइरसको सक्रमण, यसका लक्षण, प्रभाव, समस्या, बच्ने उपाय तथा अपनाउनुपर्ने सावधानी र पुर्व तयारीका बारेमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विश्वव्यापी रुपमा महामारीको रुपमा देखिएको कोरोनाबारे सबैलाई बुझन जरुरी भएको र यसको संक्रमणबाट बच्न विशेष सावधानी अपनाउनु पर्नेमा जोड दिनुभयो । अध्यक्ष चौधरीले गाउँपालिकाले नागरिकको स्वास्थ्य सेवामा पहुँच तथा गुणस्तरिय सेवाका लागि विशेष जोड दिएको भन्दै सेवाबाट बञ्चित रहेका नागरिकका लागि सामुदायिक स्वास्थ्य सेवा इकाई स्थापना गर्ने योजना रहेको बताउनुभयो । अभियानाका क्रममा नागरिकहरुलाई कोरोनाबाट बच्नका लागि स्वास्थ्य सरसफाई र सावधानीका बारेमा जानकारी गराइएको थियो ।
गाउँपालिकाको भौगोलिक क्षेत्र सिमा नाकासंग जोडिएकाले कोरोनाको संक्रमणको चेकजाँचका लागि सिमा नाका अन्र्तगत ३ वटा स्थानमा हेल्थ डेक्स स्थापना गरिने भएको छ । त्यसका लागि आवश्यक प्राविधिक तयारी थालिएको छ । त्यस अवसरमा अध्यक्ष चौधरीले वडा नंं २ स्थित स्वास्थ्य चौकीको कार्यसञ्चालन भवन र वडा नंं ३ बनकटी स्वास्थ्य चौकी अन्र्तगत नवनिर्मित प्रसुती गृह भवनको उदघाटन गर्नुभएको थियो ।
Discussion about this post