साउदी अरब । वि.सं. २०८३ साल भाद्र १० गते आएको महाविनाशकारी बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति व्यहोरेको रसुवाको उत्तरगया गाउँपालिकाका बाढीपहिरो प्रभावित परिवारका लागि जनसम्पर्क समिति, साउदी अरबले करिब ४ लाख रुपैयाँ बराबरको राहत सामग्री पठाउने व्यवस्था गरेको छ।
विपद्का कारण प्रभावित क्षेत्रमा तत्काल आवश्यक राहत तथा सहयोगको आवश्यकता रहेको अवस्थामा समितिले सोलार प्यानल तथा अत्यावश्यक औषधि लगायतका सामग्रीको व्यवस्था गरी उत्तरगया गाउँपालिकामा पठाउन लागेको हो।

उक्त राहत सामग्री जनसम्पर्क समिति, साउदी अरबका सभापति अर्जुन थापाको पहल तथा नेतृत्वमा पठाउन लागिएको जनाइएको छ। समितिका उपाध्यक्ष नरेश सापकोटाले अघि सारेको मानवीय प्रस्तावलाई समितिका पदाधिकारी तथा सदस्यहरूले सहर्ष स्वीकार गर्दै सहयोग र हातेमालो गरेपछि राहत सामग्री व्यवस्थापन सम्भव भएको बताइएको छ।
उपाध्यक्ष सापकोटाले यस मानवीय अभियानमा साथ, सहयोग र सहकार्य गर्ने जनसम्पर्क समिति, साउदी अरबका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन्।उनले विपद्को कठिन घडीमा गरिएको यस सहयोगले बाढीपहिरोबाट प्रभावित परिवारहरूलाई केही राहतसँगै आशा र भरोसा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
“मानवताको सेवामा एकता नै हाम्रो शक्ति हो,” उपाध्यक्ष सापकोटाले भनेका छन्।विपद्को समयमा प्रभावित समुदायको आवश्यकतालाई मध्यनजर गर्दै प्रवासमा रहेका नेपाली संघसंस्था तथा सामाजिक अभियन्ताहरूले सहयोग र मानवीय सेवाका कार्यलाई निरन्तरता दिँदै आएका छन्।

>










Discussion about this post