उमेस भट्ट – राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्य समिति गोरखाको आठौं अधिवेशन गोरखामा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट बारपाक सुलिकोट गाउँपालिका–६ ताकुकोट निवासी रिता थापा मगर प्रतिष्ठानको अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको हो।
कार्यक्रममा जिल्लाभरका लोक तथा दोहरी गीतप्रेमी, कलाकार, समाजसेवी र स्थानीय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। अधिवेशनले गोरखामा मौलिक कला, संस्कृति र लोकसंगीतको संरक्षण, प्रवर्द्धन र विकासका लागि दीर्घकालीन योजना अघि बढाउने निर्णय गरेको छ।
नव–निर्वाचित अध्यक्ष रिता थापा मगरले कार्यभार ग्रहण गर्दै भन्नुभयो,
“गोरखा केवल वीरताको प्रतीक होइन, मौलिक संस्कृतिको आधारशिला पनि हो। हाम्रो प्रयास लोकगीतको मर्म र सौन्दर्यलाई नयाँ पुस्तासम्म पुर्याउने हुनेछ।”
सांस्कृतिक उत्तराधिकारको संरक्षणमा जोड
अधिवेशनमा बोल्ने अधिकांश वक्ताहरूले नेपाली लोक तथा दोहरी गीत नेपालको मौलिक पहिचान भएकाले यसको जगेर्ना आजको पुस्ताको जिम्मेवारी भएको बताएका थिए। उनीहरूले प्रविधिको प्रभावबीच परम्परागत संगीत लोप हुने खतरा रहेको भन्दै संस्थागत संरक्षणको आवश्यकता औंल्याए।
रिता थापा मगर विगत लामो समयदेखि लोकसंगीत क्षेत्रमा सक्रिय रहँदै आउनु भएको एक सशक्त महिला कलाकार हुन्। उहाँले विभिन्न दोहरी प्रतियोगिता, सांस्कृतिक कार्यक्रम र सामाजिक अभियन्ताको रूपमा समेत गोरखाको पहिचानलाई देशभर पुर्याउनुभएको छ ।
अधिवेशनले उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्य पदहरूमा समेत नयाँ टोली चयन गरेको छ। नयाँ कार्यसमितिले जिल्लाभर लोकसंगीत प्रशिक्षण, प्रतियोगिता र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ।
प्रवासबाट बधाई
रियाद, साउदी अरबबाट समाजसेवी उमेश भट्टले रिता थापा मगर र सम्पूर्ण पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो,
“गोरखाको माटोले सधैं स्रष्टा जन्माउँछ। रिता थापा मगरको नेतृत्वले गोरखाको लोकसंगीतलाई राष्ट्रिय गौरवको स्तरमा पुर्याउने विश्वास छ।”
नयाँ कार्यसमितिले लोक र दोहरी गीतको माध्यमबाट गोरखाको सांगीतिक गौरवलाई नयाँ उचाइमा पुर्याउने संकल्प गर्दै अधिवेशन सम्पन्न गरेको छ।
Discussion about this post