नेपालमा बक्स अफिसमा भिडन्त, खाडी मुलुकमा पनि नेपाली फिल्मप्रतिको चासो बढ्दै |
उमेश भट्ट – रियाद, साउदी अरब — नेपाली चलचित्र उद्योग हाल प्रतिस्पर्धा र नवप्रयोगको नयाँ यात्रामा छ। यसै सन्दर्भमा नेपालका सिनेमा हलहरूमा अहिले चार बहुप्रतीक्षित चलचित्र — ‘जारी २’, ‘परान’, ‘जेरी’, र ‘मनबिनाको धन’ — एकैसाथ प्रदर्शनमा आएका छन्। चारै फिल्म फरक–फरक कथावस्तु, कलाकार र सांस्कृतिक पृष्ठभूमिका भए पनि, सबैले दर्शकको मन जित्ने प्रयास गरिरहेका छन्।

‘जारी २’ मा दयाहाङ राई र मेरुना मगरको अभिनयले ग्रामीण समाजको यथार्थ र लिम्बू समुदायको सांस्कृतिक पहिचानलाई केन्द्रमा राखेको छ। फिल्ममा लोककथात्मक स्पर्श र मौलिक संवादले नेपालीपन झल्काएको छ। तर कथा र प्रस्तुतीमा अपेक्षित गहिराइ नपुगेको दर्शकहरूको प्रतिक्रिया आएको छ।
त्यसैबीच, ‘परान’ पुनः प्रदर्शनमा आएको छ, जसले प्रेम, राजनीति र युवापुस्ताको भावनात्मक द्वन्द्वलाई उजागर गर्छ। ‘जेरी’ ले पुरानो पुस्ताको मनमा बसिसकेको प्रेमकथालाई पुनः सम्झाउने प्रयास गरेको छ भने नयाँ फिल्म ‘मनबिनाको धन’ ले पारिवारिक सम्बन्ध र सामाजिक यथार्थमा आधारित भावनात्मक कथा प्रस्तुत गरेको छ।
साउदीमा ‘जारी २’ प्रदर्शन : पहिलो दिन चाप, दोस्रो दिन कमी
नेपालमा तीव्र प्रतिस्पर्धाका बीच, खाडी मुलुकहरूमा रहेका नेपालीहरूले पनि आफ्नै फिल्म हेर्ने अवसर पाएका छन्। साउदी अरबका रियाद, जेद्दा, दमाम र बुरैदा सहरहरूमा ‘जारी २’ प्रदर्शनमा आएको छ।
रियादस्थित एक दर्शक इस्वर अधिकारी भन्छन्,
“मैले ‘जारी २’ हेरेँ। लिम्बू समुदायको संस्कृति झल्काउने दृश्य निकै मन पर्यो, तर समग्र कथाले त्यति गहिरो प्रभाव भने छोड्न सकेन।”
शुक्रवारको प्रदर्शनमा दर्शक उपस्थिति सन्तोषजनक रहे पनि शनिबारको शोमा दर्शक संख्या उल्लेख्य रूपमा घटेको रिपोर्ट गरिएको छ।
नेपाली फिल्मको वैश्विक उपस्थिति
चलचित्र विश्लेषकहरूका अनुसार, एकैसाथ चार फिल्म प्रदर्शन हुनु नेपाली चलचित्र उद्योगको आत्मविश्वास र व्यावसायिकता दुवैको संकेत हो। खाडी मुलुकहरूमा भएका प्रदर्शनहरूले नेपाली चलचित्रको वैश्विक पहुँच विस्तार भइरहेको देखाउँछ।
विदेशमा रहेका नेपाली समुदायका लागि आफ्नै भाषा र संस्कृतिमा बनेका चलचित्र हेर्न पाउनु सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने माध्यम बन्दै गएको छ। विशेषज्ञहरूका भनाइमा, यस प्रकारका प्रदर्शनले नेपाली फिल्म बजारलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न प्रेरित गर्नेछ।

>










Discussion about this post