ताप्लेजुङ, असोज २५ ।
ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा सञ्चालित खुला आमन्त्रित महिला तथा पुरुष फुटबल प्रतियोगिताको क्रममा राजनीतिक भाषण भएपछि स्थानीय युवा आक्रोशित भएका छन्।
बडा दशैं तथा शुभ दीपावलीको अवसरमा सनलाइट युनाइटेड युथ क्लबले हरेक वर्षझैं यस वर्ष पनि आयोजना गरेको उक्त प्रतियोगिता हाल सञ्चालनमा रहेको छ। तर, खेलमैदानमा आएका केही राजनीतिक दलका प्रतिनिधिहरूले सहयोगका नाममा खेलभित्र राजनीतिक प्रचारप्रसार गरेको भन्दै युवाहरूले असन्तोष व्यक्त गरेका छन्।

युवाहरूका अनुसार खेल हेर्न आएका नेताहरूले “आगामी फागुन २१ गते हुने चुनावमा हाम्रो पार्टीलाई भोट दिनुस्” भन्ने खालका भाषण गर्न थालेपछि दर्शकहरू समेत अलमलमा परेका थिए — खेल हेर्ने कि भाषण सुन्ने भन्ने।
सनलाइट युनाइटेड युथ क्लबका सदस्यहरूले आफूहरूको क्लब गैर–राजनीतिक रहेको स्पष्ट गर्दै खेललाई खेलको रूपमा मात्रै लिन आग्रह गरेका छन्। उनीहरूले भने, “हाम्रो उद्देश्य खेलकुदमार्फत एकता र सद्भाव फैलाउने हो, राजनीति होइन।”

उक्त प्रतियोगिता सञ्चालनका लागि विदेशमा रहेका स्थानीय युवाहरू, पालिका र स्थानीय व्यवसायीहरूले आर्थिक तथा वस्तुगत सहयोग गरेका छन्।
तर, राजनीतिक संघ–संगठनका केही प्रतिनिधिहरूले सहयोगका बहानामा मंच लिएर प्रचार गर्न थालेपछि खेलको वातावरण नै राजनीतिक बन्न गएको स्थानीयहरूले बताएका छन्।

स्थानीय युवाहरूले खेलकुदलाई राजनीति–मुक्त राख्न सबै पक्षलाई आग्रह गरेका छन्।
लिन्क तल्ल
https://www.facebook.com/share/v/1U43LToZtv/

Discussion about this post