रियाद, साउदी अरब। मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान पर्व बकर ईदको अवसरमा साउदी अरबको राजधानी रियादमा सम्पन्न नेपाली समुदायको प्रतिष्ठित फुटबल प्रतियोगिता १०औँ सगरमाथा गोल्ड कप–२०२६ को उपाधि नेपालगञ्ज फुटबल क्लब ले जितेको छ।

रोमाञ्चक फाइनल खेलमा नेपालगञ्ज एफसीले नवदिप फुटबल क्लब लाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो। निर्धारित समयमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा भएपछि खेलको निर्णय पेनाल्टीमार्फत गरिएको थियो।

‘विकास, अनुशासन र गतिशीलता’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितामा विभिन्न नेपाली टोलीहरूको सहभागिता रहेको थियो। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको नेपालगञ्ज एफसीले उपाधिमाथि कब्जा जमाउँदै ट्रफी उचाल्न सफल भयो भने नवदिप फुटबल क्लब उपविजेतामा सीमित रह्यो।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा नेपाली राजदूतावास रियादकी कार्यवाहक राजदूत सृजना अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको अध्यक्षता आयोजक क्लबका अध्यक्ष किरण चौधरी ले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन नागेश तामाङ ले गर्नुभएको थियो।

प्रतियोगिताको सफल आयोजनाका लागि आयोजक सगरमाथा फुटबल क्लब, रियाद को व्यापक प्रशंसा गरिएको छ। निष्पक्ष खेल सञ्चालन, व्यवस्थित व्यवस्थापन तथा भव्य आयोजनाले प्रतियोगिताको गरिमा थप उचो बनाएको सहभागीहरूले बताएका छन्।
प्रवासको व्यस्त जीवनका बीच नेपाली खेलकुदको विकास, खेलाडीहरूको प्रतिभा उजागर गर्ने तथा नेपाली समुदायबीच आपसी एकता र भाइचाराको भावना सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले उल्लेखनीय सफलता हासिल गरेको आयोजकको भनाइ छ।
फाइनल खेल तथा पुरस्कार वितरण समारोहमा उल्लेख्य संख्यामा नेपाली खेलप्रेमीहरूको उपस्थिति रहेको थियो। दर्शकहरूको उत्साहपूर्ण समर्थनले खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गर्न थप हौसला प्रदान गरेको थियो।
https://www.facebook.com/share/v/18vuAfXUHg/
प्रतियोगिताको सफलताका लागि विभिन्न संस्था तथा व्यक्तिहरूको महत्वपूर्ण योगदान रहेको थियो। प्रतियोगिताको मुख्य प्रायोजक नवदिप फुटबल क्लब रहेको थियो भने सह–प्रायोजक सगरमाथा फुटबल क्लब रहेको थियो। त्यसैगरी लाली गुराँस रेष्टुरेन्ट का सञ्चालक यम तमु, फ्लाई सिटी ट्राभल एण्ड टिकटिङ लगायत अन्य विभिन्न प्रायोजक तथा सहयोगीहरूको उल्लेखनीय साथ रहेको आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेता नेपालगञ्ज एफसी ले नगद ७ हजार ५ सय साउदी रियाल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको छ। त्यसैगरी उपविजेता नवदिप फुटबल क्लब ले नगद ३ हजार ८ सय साउदी रियाल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ।
https://www.facebook.com/share/v/1HcxBRRMqW/
प्रवासमा आयोजित यस प्रतियोगिताले नेपाली समुदायबीच खेलकुदप्रतिको आकर्षण बढाउनुका साथै आपसी सद्भाव, एकता र भाइचारालाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।

>










Discussion about this post