चितवनमा असार ७, ८ र ९ गते हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक महाधिवेशनलाई लक्षित गर्दै केन्द्रीय सदस्य पदका उम्मेदवार अमर सापकोटाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
लामो समय प्रवासी श्रमिकका रूपमा कार्यरत रहेका सापकोटाले प्रवासी नेपालीहरूको पीडा, समस्या र भोगाइलाई नजिकबाट अनुभूत गरेको उल्लेख गर्दै आफू नारा र भाषणभन्दा परिणाममुखी राजनीतिमा विश्वास गर्ने उम्मेदवार भएको बताएका छन्।

उनले आफूलाई “भुइँमान्छे” को रूपमा प्रस्तुत गर्दै हिजो, आज र भोलि पनि कार्यकर्ता तथा आम सदस्यहरूमाझ सहज रूपमा उपलब्ध रहने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, नयाँ पुस्ताको आवाजलाई नीति निर्माण तहसम्म पुर्याई देशको दिगो विकासका लागि युवा शक्तिलाई नेतृत्वदायी भूमिकामा स्थापित गराउन पहल गर्ने बताएका छन्।
सापकोटाले लाखौं प्रवासी नेपालीहरूको अधिकार, सम्मान र सुरक्षाका विषयलाई केन्द्रीय समितिमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाएका छन्। प्रवासमा बिताएको अनुभवका आधारमा श्रमिकका समस्या र चुनौती समाधानका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने उनको भनाइ छ।
“अबको राजनीति नारा र भाषणमा होइन, नतिजामा केन्द्रित हुनुपर्छ,” उनले भने, “पार्टीलाई अझ बलियो, न्यायपूर्ण र गतिशील बनाउन साझा आवाजलाई नीति निर्माण तहसम्म पुर्याउने मेरो लक्ष्य हो।

केन्द्रीय सदस्य पदका उम्मेदवार सापकोटाले महाधिवेशन प्रतिनिधिहरूसँग आफूलाई मतदान गरी विजयी गराउन हार्दिक अपिल समेत गरेका छन्।

>










Discussion about this post