काठमाडौं — भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत जिल्लाका नागरिकको राहत तथा पुनर्स्थापनाका लागि हेल्प मधेशी साउदी अरबले ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।
संस्थाका अध्यक्ष श्याम कुमार महतोका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कनेक्ट आईपीएसमार्फत जम्मा गरिएको हो।
बाढी तथा नदी कटानका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवार विस्थापित भएपछि राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको अध्यक्ष महतोले बताए।महतोले विपत्तिको समयमा पीडित नागरिकको साथमा उभिनु मानवीय दायित्व भएको बताउँदै प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकार, संघसंस्था र सहयोगी मनहरूलाई सहकार्यका लागि आग्रह गरे।

उनले मातृभूमिमा विपत्ति पर्दा प्रवासमा रहेका नेपालीहरूबीचको दूरीले मानवीय संवेदनालाई टाढा बनाउन नसक्ने भन्दै संकटको समयमा सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए।हेल्प मधेशी साउदी अरबले सहयोगलाई आर्थिक योगदान मात्र नभई नेपाली एकता, मानवीय भावना र मातृभूमिप्रतिको जिम्मेवारीको अभिव्यक्ति भएको जनाएको छ। संस्थाले अभियानमा सहयोग गर्ने सदस्य, समाजसेवी, बुद्धिजीवी तथा सम्पूर्ण नेपालीप्रति आभार व्यक्त गरेको छ।

पछिल्लो समय बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि साउदी अरबमा सक्रिय विभिन्न नेपाली संघसंस्था, सामाजिक अभियन्ता तथा नेपाली दाजुभाइ–दिदीबहिनीबाट करिब ९० लाख रुपैयाँ बराबरको सहयोग जुटेको स्रोतले जनाएको छ।
प्रवासमा रहेका नेपालीहरूको यस्तो सहयोगले विपत्तिको समयमा विदेशमा रहे पनि मातृभूमिप्रतिको जिम्मेवारी र नेपाली एकताको भावना बलियो रहेको देखाएको छ ।

>










Discussion about this post