रोल्पा — लुङ्ग्री गाउँपालिकामा कम्प्युटर तथा फोटोकपी मेसिन खरिद प्रक्रियामा करिब पाँच लाख रुपैयाँ बराबर आर्थिक अनियमितता भएको आरोप सार्वजनिक भएको छ।
गत जेठ ५ गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार गाउँपालिकाले केही विद्यालयलाई कम्प्युटर तथा फोटोकपी मेसिन अनुदानस्वरूप उपलब्ध गराएको थियो। तर सोही सामग्री खरिद प्रक्रियामा बजार मूल्यभन्दा उल्लेखनीय रूपमा बढी मूल्य देखाई लागत बढाइएको भन्दै स्थानीय युवाहरू र सरोकारवालाहरूले आपत्ति जनाएका छन्।

सार्वजनिक विवरणअनुसार बारकोड मूल्य र बिल मूल्यबीच स्पष्ट अन्तर देखिएको छ। वास्तविक मूल्य करिब रु. ९,९०,५०० रहेकोमा गाउँपालिकाले रु. १४,९५,५५९ बराबरको बिल तयार गरेको देखिएको छ। यसअनुसार करिब रु. ५,०५,०५९ को फरक रकम देखिएको छ, जसलाई स्थानीयहरूले सामान्य प्राविधिक त्रुटि वा “प्रिन्टिङ मिस्टेक” भन्दै टार्न नमिल्ने बताएका छन्।
घटनापछि वितरण गरिएका सामग्री शनिबारको दिन गाउँपालिकाको गाडी प्रयोग गरी फिर्ता गरिएको र पुनः सम्बन्धित सप्लायर्सलाई पठाइएको जनाइएको छ। तर सोही विषयमा पारदर्शिता र प्रक्रियागत स्पष्टता नदेखिएको भन्दै दोस्रो दिन गाउँपालिका परिसरमा युवाहरूले विरोध प्रदर्शनसमेत गरेका थिए।

गाउँपालिका अध्यक्ष भरत थापाले भने आफू कुनै पनि अनियमिततामा संलग्न नभएको दाबी गरेका छन्। त्यस्तै प्रशासकीय अधिकृत अनिल रिजालले पनि आफू दोषी नभएको बताउँदै सम्पूर्ण जिम्मेवारी सप्लायर्सतर्फ देखाएका छन्।
यसबीच, स्थानीय युवाहरू, राजनीतिक दल, बुद्धिजीवी तथा पत्रकारहरूको सहभागितामा थप विरोध कार्यक्रम गर्ने तयारी भइरहेको जनाइएको छ।
युवाहरूका प्रमुख मागहरू
युवाहरूले सार्वजनिक बिदाको दिन गाउँपालिकाको गाडी प्रयोग गरी सामग्री वितरण तथा फिर्ता गरिएको विषयमा स्पष्ट स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्। साथै, सम्पूर्ण घटनाको निष्पक्ष छानबिन गरी दोषी ठहरिने व्यक्तिहरूमाथि कानुनी कारबाही गर्नुपर्ने उनीहरूको जोड छ।

त्यस्तै, गाउँपालिका अध्यक्ष भरत थापाले घटनासँग सम्बन्धित विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै उनीहरूले अध्यक्षको राजीनामा समेत माग गरेका छन्। प्रशासनिक लापरबाही, प्रक्रिया उल्लङ्घन तथा राज्यको सम्पत्ति दुरुपयोगमा संलग्न रहेका सबै कर्मचारी तथा सरोकारवालालाई निलम्बन गर्नुपर्ने माग पनि युवाहरूले अघि सारेका छन्।
युवाहरूले अन्त्यमा गाउँपालिकामा सुशासन, पारदर्शिता, शान्ति र समृद्धि सुनिश्चित गर्दै जनताको विश्वास जित्ने खालको सुधारात्मक कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका छन्।

>









Discussion about this post