इटहरी । घरमै बसी बसी तालिम लिन पाउँदा इटहरीका महिलाहरू उत्साहित भएका छन् । इटहरी उपमहानगरपालिकाले कौशी खेती गर्न चाहने महिलाहरूलाई भर्चुअल प्रविधिवाट यस सम्बन्धी तालिम प्रदान गरेको हो ।
कोरोना महामारीका कारण भेला भएर कार्यक्रम गर्न सम्भव नभएपछि कौशी खेती गर्न गठित सातवटा समूहका १ सय ३४ जना महिलालाई जुममार्फत कौशी खेती गर्ने तरिका सिकाइएको इटहरी उपमहानगरपालिका कृषि शाखा प्रमुख गंगामाया अधिकारीले जानकारी दिइन् ।
इटहरी वडा नम्वर २०, ४ र ६ मा आफ्नै घरमा कौशी खेती गर्नका लागि समूह बनाएका सातवटा समूहका महिलाहरूलाई गंगामाया अधिकारी र विमला राईले तालिम दिए । सो क्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले आफूले कौशी खेती गर्दाको अनुभव सुनाइन् । उनले कौशी खेतीको महत्त्व र फाइदा बारे चर्चा गरिन् ।
तालिमका सहभागीहरू उत्साहित भएको कृषि शाखा प्रमुख अधिकारीले बताइन् । तालिममा सहभागि इटहरी–६ को उर्जाशील कौशी कृषक समूहकी लक्ष्मी बरालले घरमै बसी बसी तालिममा सहभागी भएर कौशी खेती गर्ने तरिका सिक्न पाउँदा खुशी व्यक्त गरिन् । घरको छतमै अर्गानिक सब्जी फलाएर उपभोग गर्न आफूहरु हतारिएको उनले बताइन् ।
इटहरी उपमहानगरपालिकाले कौशी खेती गर्न गठित महिला समूहलाई प्रति समूह २ लाखका दरले सहयोग उपलब्ध गराउने कृषि शाखा प्रमुख अधिकारीले बताइन् । कौशी खेती गर्न आवश्यक समाग्री खरिदका लागि रकम उपलब्ध गराइने उनले बताइन् । । थप एक लाखको कौशी खेतीका लागि बिउ खरिद गरेर महिला समूहलाई दिइने उनले बताइन् ।

>









Discussion about this post