काठमाडौं, श्रावण १० । “पेसागत मर्यादा, कर्तव्य र अधिकार” भन्ने मूल नारासहित स्थापित स्वतन्त्र चालक संघ नेपालले आफ्नो केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन समारोह आगामी वि.सं. २०८३ साल श्रावण ११ गते सोमबार बिहान ११:०० बजे आयोजना गर्ने भएको छ।
संघका अनुसार काठमाडौंको त्रिभुवन पार्क अगाडि, थानकोटस्थित केन्द्रीय कार्यालयमा आयोजना हुने समारोहको उद्घाटन नेपालको गौरव सम्माननीय क्याप्टेन (पाइलट) विजय लामाको शुभहस्तबाट हुनेछ।

संघले देशभर तथा विदेशमा कार्यरत जल, स्थल र हवाई क्षेत्रका सम्पूर्ण चालक, सहचालक, यातायात श्रमिक तथा श्रमप्रति सम्मान राख्ने सबै नेपालीलाई कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा दिएको छ।
संघका पदाधिकारीका अनुसार सडकमा सवारी साधन चलाउने चालक, आकाशमा विमान उडाउने पाइलट तथा जलमार्गमा जहाज सञ्चालन गर्ने कप्तानहरूको पेसा फरक भए पनि उनीहरूको साझा जिम्मेवारी सुरक्षित यात्राको सुनिश्चितता भएकाले सबै चालक समुदायलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

उद्घाटन समारोहसँगै चालकहरूको हक, हित र अधिकारको संरक्षण, पेसागत मर्यादाको प्रवर्द्धन, राष्ट्रिय एकता तथा जल, स्थल र हवाई क्षेत्रका चालकहरूबीच सहकार्य र सम्मान विषयमा विशेष अन्तरक्रिया तथा शुभकामना मन्तव्य कार्यक्रमसमेत सञ्चालन गरिने जनाइएको छ।कार्यक्रममा सम्माननीय क्याप्टेन (पाइलट) विजय लामाका साथै वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ, अधिवक्ताद्वय मनिष कुमार श्रेष्ठ र स्वागत नेपाल, साथै पत्रकार दिवाकर शाहको विशेष उपस्थिति रहने आयोजकले जनाएको छ।
संघले “यदि तपाईं स्टेरिङ सम्हाल्नुहुन्छ, जहाजको कमाण्ड गर्नुहुन्छ वा विमान उडाउनुहुन्छ भने यो कार्यक्रम तपाईंको पनि हो” भन्दै चालक समुदायको सम्मान, श्रमको मूल्य, पेसागत अधिकार र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सबैको सहभागिताको आह्वान गरेको छ।संघले “एकता हाम्रो शक्ति, सम्मान हाम्रो पहिचान, अधिकार हाम्रो अभियान” तथा “जल, स्थल र हवाई—सबै चालक एउटै परिवार” भन्ने सन्देशलाई आत्मसात गर्दै चालक समुदायको साझा हितका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

>










Discussion about this post